मीरा बस्नेत र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, वैशाख २६ । कोरोना संक्रमण फैलन नदिने अचुक उपायको रुपमा लागू गरिएको ‘लकडाउन’ केही खुकुलो भएपछि सडकमा सवारी–साधनको चाप बढेको छ । मानिसहरुको चहलपहल बढ्न थालेको छ ।
देशको प्रमुख प्रशासनिक सचिवालय सिंहदरबारमा पनि चहलपहल बढ्न थालेको छ ।
अघिल्ला दिनहरुको तुलनामा शुक्रबार सिंहदरबारभित्र सवारी–साधनको आवत–जावत निकै बढेको देखिन्थ्यो ।
सवारी–साधनसँगै मानिसहरुको चहलपहल पनि बाक्लिन थालेको छ ।
लकडाउनको ४६ दिनमा सिंहदरबारभित्र देखिएको दृश्य हो यो ।
मन्त्रिपरिषद्ले लकडाउनकाबीच अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयहरुमा न्यूनतम् मापदण्ड पूरा गर्ने कर्मचारीलाई आलोपालो काममा लगाउने निर्णय गरेसँगै विगतको तुलनामा चहलपहल बढेको हो ।
तर, सिंहदरबारभित्रकै कतिपय मन्त्रालयमा कर्मचारीको संख्या अलि बाक्लो र कतिपयमा शून्यप्रायः देखिन्थ्यो ।
संसद अधिवेशन चल्न थालेको छ । सरकार वार्षिक नीति तथा कार्यक्रम अनि बजेटको तयारीमा जुटिरहेको बेला सरकारी कर्मचारीलाई कामको चाप भने त्यति नरहेको आभास सिंहदरबारका मन्त्रालयहरुमा देखिएका रित्ता कुर्सीहरुले दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी अतिआवश्यक ठानिएका कर्मचारीहरुलाई आलोपालो गरेरमात्र कार्यालयमा बोलाइएको र आन्तरिक कार्यहरु भइरहेको बताउँछन् ।
सरकारले ४२ प्रकारका उद्योगधन्दा खोल्न अनुमति दिएको छ । तर, सरकारी कार्यालय कतिओटा र कसरी खोल्ने भनेर कुनै निर्णय नगरेकाले सरकारी कर्मचारीहरुलाई हाइसञ्चो भएको छ ।
घरै बसेर तलबभत्ता बुझिरहेका धेरैजसो निजामती कर्मचारी कहिलेदेखि नियमित काममा फर्कने हुन्, त्यसको अत्तोपत्तो छैन ।
निजामती सेवामा रहेका एक लाख ३८ हजार कर्मचारीमा कतिलाई काममा लगाइएको छ, कति घरमै बसेर तलबभत्ता लिइरहेका छन्, त्यसको पनि लेखाजोखा गरिएको पाइँदैन ।









प्रतिक्रिया दिनुहोस्