Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


आयोगले बढायो चिकित्सा शिक्षाको शुल्क, काठमाडौंमा एबीबीएस पढ्न ४१ लाख ६८ हजार


1.8k
Shares

काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क बढाएको छ ।

आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क बढेको बताउनुभयो ।

शर्माले स्नातक तहका १६, स्नातकोत्तर तहका ५४ र स्नातकोत्तर तहभन्दा माथिका दुई शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रको भन्दा यसपटक ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको छ ।

स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ, एमबीबीएस उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ, विडिएस २० लाख ९२ हजार २९० रुपैयाँ, बिएस्सी नर्सिङ १० लाख ३६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै बिएस्सी एमआइटी, बिपिटी, बि. मेडिकल माइक्रोलोजी र बि. बायोक्यामेस्ट्री, बिपिएच, बिफार्मेसी, विपर टेक, बिएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोजी र एमएस्सी मेडिकल बायोक्यामेस्ट्री, एमएस्सी एमआइटी, एमएस्सी एमएलटीको पनि सात लाख ५७ हजार ८३० रुपैयाँ तोकिएको छ ।

स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० रुपैयाँ र डिएम÷एमचिएचको २५ लाख ९० हजार रुपैयाँ शुल्क तोकिएको आयोगका उपसचिव शर्माले जानकारी दिनुभयो ।