Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेकपा विधानको उल्लंघन, स्थायी कमिटी सदस्यहरु झन् आक्रोशित


0
Shares

रोमन आचार्य (इमेज)

काठमाठौं, वैशाख २५ । पच्चिस प्रतिशत सदस्यले माग गरेको १५ दिनभित्र स्थायी कमिटी बैठक राख्नैपर्ने सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधानको व्यवस्था उल्लंघन भएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसमक्ष वैशाख १० गते ४५ मध्ये २० स्थायी कमिटी सदस्यले लिखितरुपमै बैठक माग गरेको बिहीबार १५ दिन पूरा भएको छ ।

आजलाई तय भएको बैठकसमेत रोकेर ओली, दाहालले पार्टी विधानको घोर उल्लंघन गरेपछि कमिटी सदस्यहरु झन् आक्रोशित बनेका छन् ।

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विधानबमोजिम बैठक नराखेपछि आक्रोशित २० जना स्थायी समिति सदस्यहरु थप दबाब सिर्जना गर्न बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा भेला भए ।

ओलीइतर समूहको भेलाले दबाब समूह नै गठन गरेको छ ।

गत शनिबार बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक तय गरेको थियो ।

बुधबार बसेको सचिवालय बैठकमा शीर्ष नेताहरुबीच किचलो भएपछि बैठकको एजेन्डा तय हुन नसकेको बहानामा स्थायी कमिटी बैठक अनिश्चित बनाइयो ।

वैशाख १० गते दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक माग गरेका २० नेतालाई शीर्ष नेताको बैठक टार्ने दाउ पटक्कै मन परेको छैन ।

व्यक्तिगत स्वार्थको कारण पार्टी विधान मिचेर नेकपालाई व्यक्तिवादमा चलाउन खोजेको स्थायी कमिटी सदस्यहरुको बुझाइ छ ।

यसरी स्थायी कमिटी बैठक टार्दा स्थिति झन् प्रत्युत्पादक हुने चेतावनी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दिए ।

गत शनिबारको सचिवालय बैठक, त्यसपछिका गुटगत भेलाले बुधबारको सचिवालय बैठक तनावग्रस्त बनेको थियो ।

खासगरी प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा एक व्यक्ति एक जिम्मेवारीको विषय उठाएर आफ्नो राजीनामा मागिने बुझेपछि बैठक नै टारिदिएको बताइन्छ ।

ओलीनिकट महासचिव विष्णु पौडेलले एक व्यक्ति एक जिम्मेवारीलाई सम्भवै नहुने बताए ।

पौडेलको यो स्पस्ट सन्देशले ओलीइतर दाहाल–माधवकुमार नेपाल खेमाको एक व्यक्ति एक जिम्मेवारीको मुद्दाकै कारण स्थायी कमिटी टारेको देखिँदैछ । यसले नेकपा विवाद झनै लम्बिने देखिएको छ ।