Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


संसदीय छानबिन समितिले थाल्यो काम : अर्थमन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग


169
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग उनी सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित विषय कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए । उनले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको बताए ।

सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिए । मंगलबारको बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले गरेका थिए । अर्को बैठक बुधबार बस्ने समितिले जनाएको छ ।

पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विषेश छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।