
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ । पार्टीभित्रको अर्को खेमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले मंगलबार नै काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्यो । यसबाट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको सन्देश दुवै पक्षले दिएका छन् ।
यादव पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबार वीरगञ्जस्थित पुजन होटेलमा गरेको छ । यादव पक्षले बुधबार र बिहीबारका लागि वीरगन्जको टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार केही गैरराजनीतिक चरित्र भएका अराजक व्यक्तिले जसपा केन्द्रीय समितिको बैठक सम्बन्धमा भ्रमात्मक प्रचार गरिरहेका छन् ।
उनले भने, ‘असार २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समिति विस्तारिक बैठक वैधानिक एवं आधिकारिक बैठक होइन, षड्यन्त्र हो। पार्टीको वैधानिक र आधिकारिक केन्द्रीय समितिको विस्तारित बैठक असार २९ र ३० गते वीरगन्जमा हुँदै छ,’ उनले भने ।
भट्टराई पक्षले मंगलबार काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा आयोजना गरेको केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी नेता महिन्द्रराय यादवले भने, ‘जसपाभित्र आन्तरिक लोकतन्त्र बहाली गराउन खोज्दा आफूहरूलाई नेतृत्वले एक्ल्यायो ।’ आफूहरूलाई जानकारी नै नगराईकन वीरगन्जमा बैठक डाकिनु अनुचित भएको उनले बताए । भट्टराई पक्षको बैठक बुधबार पनि बस्नेछ । ‘पार्टी विभाजन रोक्न अधिकतम पहल गर्छु,’ महिन्द्ररायले भने, ‘सास रहुन्जेलसम्म पार्टी एकताका लागि पहल गर्छु । हाम्रो प्रयासले मात्र बच्ने सम्भावना कम छ ।’
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्