Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बजेट अधिवेशनमा सरकारका कमजोरी र जनजीविकाका सवाललाई उठाउने कांग्रेसको तयारी


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, वैशाख २४ । सरकारले वैशाख २६ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गरेको छ ।

बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, आगामी आर्थिक वर्षको बजेट प्रस्तुत र छलफललगायत अधिवेशनका नियमित काम हुनेछन् ।

अधिवेशनका नियमित कामसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका काम–कारबाही, समसामयिक विषय र जनजीविकाका सवालहरु उठाउने रणनीति बनाएको छ ।

संघीय संसद सचिवालयले २६ गतेदेखि सुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मुलुकको विषम परिस्थितिलाई ध्यानमा राखेर सचिवालयले भौतिक तयारीसँगसँगै स्वास्थ्य सुरक्षाको पनि आवश्यक तयारी गरेको जनाएको छ ।

यता, सरकारले बजेट अधिवेशनको मुख्य कामहरु नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ ।

उता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी संसद बैठकमा सरकारका काम–कारबाही, कोरोना संक्रमण नियन्त्रणमा सरकारबाट भएको कमी–कमजोरी र जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठाउने रणनीति बनाएको छ ।

सरकारका कमी–कमजोरीलाई संसदमा प्राथमिकताका साथ उठाउने तयारी गरेको कांग्रेसले कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा ल्याउन र वर्तमान संकटसँग जुध्न भने सरकारलाई सहयोग गर्ने बताएको छ ।

बजेट अधिवेशनका नियमित कामसँगै संसदमा स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितता, विवादित अध्यादेश र संकटको बेला सरकारले प्रभावकारी काम गर्न नसकेको विषयले प्राथमिकता पाउने देखिएको छ ।

प्रतिपक्ष दलसँगै सत्तापक्षकै कतिपय सांसदहरुको तयारी हेर्दा बजेट अधिवेशनमा सरकारको तीव्र आलोचना हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्