१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको एमालेको निष्कर्ष


7.397k
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै आगामी निर्वाचनमा बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको निष्कर्ष निकालेको छ ।

एमालेले तल्लो कमिटीहरुलाई जनमत बढाउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।

एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा मत वृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिने र मतको संरक्षण गर्ने योजना बनाउन निर्देशन दिएको छ । पार्टीलाई बहुमत पुग्न करिब १६ प्रतिशत मत अपुग रहेकाले त्यसलाई वृद्धि गर्न ठोस योजनाका साथ अघि अगाडि बढ्न कमिटीहरुलाई निर्देशन दिइएको हो ।

एमालेले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै ३४ प्रतिशत मत प्राप्त गरेर सबैभन्दा ठूलो दल बनेको दाबी गरेको छ ।

त्यसैगरी अपानीमा सत्ताका लागि गोटी चाल्दा अहिलेको सत्ता गठबन्धनलाई भत्काउन सकिने निष्कर्ष एमालेको छ । तर अहिले गठबन्धन नै निर्वाचनमा जानसक्ने सम्भावना रहेको भन्दै एक्लै चुनाव जित्नेगरी तयारी गर्न पनि निर्देशन गरेको छ ।

एमालेले गठबन्धनबिना केही गर्न सकिन्न भन्ने मानसिकतालाई बदल्न पनि निर्देशन दिएको छ । पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्ने निष्कर्ष निकाल्दै एमालेले अन्तरपार्टी निर्देशनमा गठबन्धन कायम रहन सक्ने भएकाले एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्ने निर्देशनमा उल्लेख छ ।