Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अष्ट्रेलियन नागरिक बोकेर नेपाल एयरलाइन्स आज सिड्नी उड्दै


0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ ।

निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् ।

उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ । वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

दोस्रो जहाजले साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ । भोलिपल्ट काठमाडौँ फर्कने तालिका छ ।

दुवै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । 

प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्न लागेको छ ।

निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा नेपाल एयरलाइन्सले चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ ।

बेइजिङ पहिलो र ऐतिहासिक उडान

नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको छ ।

काठमाडौँ–बेइजिङ करिब सात घण्टाको उडान हुनेछ ।

लकडाउन अवधिमा आठ अन्तर्राष्ट्रिय उडान गरेको नेपाल एयरलाइन्सलको वाइडबडी जहाजले पहिलोपटक चैत १६, २० र २४ गते चीनको ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो ।

हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।रासस