काठमाडौं, वैशाख २३ । यही वैशाख २५ गतेका लागि तय गरिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शीर्ष नेताहरुबीच दौडधुप तीव्र भएको छ ।
पार्टीभित्रको अन्तरसंघर्ष सचिवालय बैठकमा समाधान भएको दाबी गरिएपनि विवाद स्थायी कमिटी बैठकमा पुग्ने देखेपछि शीर्ष नेताहरुले छलफललाई तीव्रता दिएका हुन् ।
गत शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाएको छ ।
स्थायी कमिटीको तयारी र एजेन्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् ।
दाहालसँगको छलफललगत्तै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनालसँग पनि छलफल गरेका छन् ।
छलफलमा स्थायी कमिटी बैठकमा पेस हुने एजेन्डा, पार्टीभित्र देखिएको विवाद समाधानबारे छलफल भएको बताइएको छ ।
त्यसो त शनिबार बसेको सचिवालय बैठकको भोलिपल्ट नेता माधवकुमार नेपालले अर्का अध्यक्ष दाहाल, आफूनिकट स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए ।
यस्तै, सोमबार स्थायी कमिटी बैठकलाई लक्षित रणनीति बनाउन प्रवक्ता नारायणकाजी श्रेष्ठ निवासमा अध्यक्ष दाहाल, नेता खनाल, नेता नेपाल र प्रवक्ता श्रेष्ठबीच छलफल भएको थियो ।
सचिवालय बैठकले स्थायी कमिटी बैठकमा पेस हुने दस्तावेज तयार पार्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।









प्रतिक्रिया दिनुहोस्