Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


श्रीलंकामा गहिरिँदै संकटः राष्ट्रपति र प्रधानमन्त्री निवासमा आक्रोशित भिड


208
Shares

काठमाडौं । आर्थिक संकट बढ्दै जाँदा श्रीलंकामा राजनीतिज्ञप्रति आक्रोशित प्रदर्शनकारीको भिड शनिबार दिउँसो राष्ट्रपति निवास र साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ । हजारौं सुरक्षाकर्मीहरूको अवरोधलाई छिचोल्दै प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्री निवासमा प्रवेश गरेका हुन् । प्रदर्शनलाई मध्यनजर गर्दै सरकारी अधिकारीहरूले शुक्रबारदेखि निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूले त्यसलाई उल्लंघन गर्दै राजधानी कोलम्बोमा विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रपतिको सरकारी आवासनजिकै जम्मा भएका प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा प्रवेश गर्न थालेपछि राष्ट्रपति गोटाबाय राजापक्षेलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेका थिए । तथापि उनलाई कहाँ लगियो भन्ने कुरा गोप्य राखिएको छ ।

प्रदर्शनकारीहरूको भिड रोक्न सुरक्षाकर्मीहरूले अश्रुग्यास र हवाई फायरसमेत प्रयोग गरेका थिए । तर प्रदर्शनकारीहरू निरन्तर अघि बढेपछि सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न असफल भएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा प्रदर्शनकारीहरू राष्ट्रपति निवासवरिपरि घुमिरहेको, उनी बस्ने सुविधासम्पन्न कोठाहरूमा बसिरहेको र स्विमिङ पुलमा पौडी खेलिरहेको देख्न सकिन्छ ।

राष्ट्रपति निवासमा घुसेको प्रदर्शनकारीहरूको भिड दिउँसो प्रधानमन्त्री निवासमा पनि प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रदर्शन बढ्दै गएपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सर्वदलीय सरकार निर्माणका लागि आफूले पदबाट राजीनामा दिने तयारी गरिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत राजीनामाबारे जानकारी गराएका हुन् । उनले यसबारे पार्टीका नेताहरूलाई पनि जानकारी गराएको बताएका छन् । उनले नागरिकको सुरक्षालाई सुनिश्चित गर्न पदबाट राजीनामा दिन लागेको दाबी गरेका छन् । शनिबार भएको प्रदर्शनमा श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या पनि सहभागी भएका थिए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।