
काठमाडौं । निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकँुडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ ।
ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले ।।।भोलि फर्काइदिन्छू’ भन्दै टार्ने गरेका छन् । यो प्रवृत्तिले सरकारी आवास गृह व्यवस्थापनमा खटिएका कर्मचारी आजित भइसेकका छन् ।
पछिल्लो पटक कृषि तथा पशुपक्षी मन्त्री पदबाट बिदा पाउनुभएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्रीनिवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर जानुभएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताए ।
आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उहाँलाई ती सामग्री फर्काउन पत्राचार ग¥यो । कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले पूर्वमन्त्री यादवलाई त्यसबारे जानकारी गराएपछि उहाँले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभयो । पूर्वमन्त्री यादवले सरकारी आवास छाडेको एक साताभन्दा बढी भइसक्दा पनि शुक्रबारसम्म ती सामग्री फिर्ता भने गर्नुभएको छैन ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्