दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, वैशाख २३ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी ‘लकडाउन’को अवस्थामा पनि काठमाडौं भित्रने र बाहिरिनेको क्रम रोकिएको छैन ।
अत्यावश्यक कामका बाहेक कुनैपनि सवारी–साधन काठमाडौं नभित्रिएको सुरक्षाकर्मीको दाबी रहेपनि लुकिछिपी भित्रनेक्रम भने नरोकिएको हो ।
लकडाउनको समयमा जो जहाँ छन्, त्यहीँ रही सरकारी निर्देशन पालना गर्नुपर्ने भएपनि यसको पूर्ण पालना भने भएको देखिँदैन ।
केही समयअघिमात्र काठमाडौंमा लकडाउनका कारण अलपत्र परेकाहरुलाई विभिन्न स्थानीय निकायहरुले सम्बन्धित जिल्लामा लैजाने व्यवस्था गरेका थिए ।
यस्तै, केही दिनअघिमात्र विराटनगर महानगरपालिकाको पहलमा केही मानिस काठमाडौं भित्रिएका थिए । योक्रम भने अझै जारी रहेको देखिन्छ ।
विभिन्न नाकाहरुबाट सानो संख्यामा भने काठमाडौं भित्रनेक्रम रोकिएको छैन । लुकिछिपी भित्रनेहरु पनि भेटिएका छन् ।
एम्बुलेन्समा समेत मानिसहरु काठमाडौं भित्रिएको पाइएको छ ।
तर, सुरक्षाकर्मी भने यो मान्न तयार छैनन् ।
अतिआवश्यकबाहेकका कुनैपनि सवारी–साधन काठमाडौं प्रवेश गर्न नदिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवाली बताउँछन् ।
चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले नागढुंगाबाट मानिसहरु काठमाडौं भित्रिएको समाचारमा कुनै सत्यता नभएको दाबी गर्छन् ।
लकडाउनको समयमा वितरण गरिएको पासको दुरुपयोग गरी पनि काठमाडौं भित्रने र बाहिरिने देखिएको छ ।
कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सवारी आवागमनमा थप कडाइ गर्न आवश्यक देखिन्छ ।
मुख्य नाकाहरुमा मात्र नभइ विभिन्न बाटोबाट लुकिछिपी भित्रने र बाहिरिनेलाई रोक्न पनि सुरक्षाकर्मीका साथै स्थानीय निकायहरुको सक्रियता थप बढ्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्