Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


‘बन्दुक कानुन’ कडा भएको जापानमा पूर्वप्रधानमन्त्रीको हत्या


2.4k
Shares

काठमाडौं । बन्दुकसम्बन्धी कडा कानुन, प्रायः बिरलै राजनीतिक हिंसा हुने मुलुक । दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अंगालेको देश, एसियाली मुलुक जापानलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने शब्द हुन् यी । विभिन्न मुलुक हत्या हिंसाले ग्रस्त भइरहँदा जापानको अन्तर्राष्ट्रिय छवि भने ‘सुरक्षित समाज’का लागि उदाहरणीय नै मानिँदै आएको छ ।

तर, शुक्रबार बिहान जापानमा जे घटना भयो, यसले विश्वलाई नै अचम्ममा पारेको छ । जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय सिन्जो आबेको गोली प्रहारपछि भएको हत्याले विश्व नै स्तब्ध भएको छ । विभिन्न मुलुकका राष्ट्रप्रमुखले घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।

जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार, आफू आबद्ध राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको कार्यक्रममा सहभागी भइरहेका बेला स्थानीय समयअनुसार बिहान ११ बजे उनीमाथि एक व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहारको केही समयपछि उनको निधन भएको थियो ।

जापानमा आइतबार माथिल्लो सदनको निर्वाचन हुँदै छ । सोही निर्वाचनका लागि आफ्नो पार्टीका एक उम्मेदवारको पक्षमा नारा सहरको सडकमा भाषण गरिरहेका आबेमाथि पछाडिबाट गोली हानिएको थियो । गोली उनको छाती र घाँटीमा लागेको थियो । गोली लागेपछि उनी त्यहीँ ढलेर बेहोस भएका थिए । उनले लगाएको सर्टमा रगत देखिएको थियो । लगत्तै नारा मेडिकल युनिभर्सिटी लगिएका उनी त्यहाँ पुर्‍याउँदासम्म बोलिरहेका थिए । तर, मुख्य अंगहरूले काम गर्न छाडिसकेका थिए । केही घण्टाको उपचार प्रयासपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।