Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


गुट–उपगुटको दुष्चक्रमा कांग्रेस: पुराना भत्कँदै, नयाँ झाँगिँदै


507
Shares

काठमाडौं । ‘हामी भागबन्डाको राजनीति, गुटबन्दीको राजनीतिमा लाग्दैनौं। काम गर्दै जान्छौं । राम्रो काम गर्दै गए पक्कै पनि उहाँहरूलाई सोच्न बाध्य बनाउँछौं ।’ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिर २९ गते १४औं महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आयोजना गरिएको धन्यवाद कार्यक्रममा व्यक्त गरेको धारणा हो यो ।

सभापतिमा पराजयपछि आयोजना गरिएको धन्यवाद कार्यक्रममा नेता शेखरले नेतृत्वका लागि भएको प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र भएको जनाउँदै आफूमा कुनै कुण्ठा नभएको धारणा राखेका थिए । महाधिवेशनपछि निरन्तर निकटहरूको बैठक गर्दै आएको शेखर पक्षले असार १६ र १७ गते काठमाडौंमा भेला गरेर सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको ठहर गरेको छ ।

पार्टीभित्र ४० प्रतिशत मत ल्याउने पक्षलाई बेवास्ता गरिएको भन्दै शेखर पक्षले निर्णय प्रक्रियादेखि सबै विषयमा सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । पार्टीको विधिविधानअनुसार सभापति देउवा अघि बढ्न नसकेको र उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई न्याय गर्न नसकेको भन्दै पार्टीभित्र ‘रचनात्मक विद्रोह’ गर्ने उद्घोष भन्दै कोइराला पक्षले गरेको छ ।

कोइराला पक्षको यो निष्कर्षसँगै कांग्रेसभित्रको गुट राजनीति थप सशक्त हुने देखिएको छ । कोइराला पक्षले पार्टीका सबै निकायमा भाग खोज्ने र लिने निष्कर्ष निकाल्दै उपसभापति र महामन्त्रीका प्रत्यासी चन्द्र भण्डारी र मीनेन्द्र रिजाललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत नगरेकोमा पनि असन्तुष्टि जनाएको छ । सभापति देउवाले सभापतिका सबै प्रत्यासीसहित उपसभापति र महामन्त्रीका अधिकांश उम्मेदवारलाई केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।