२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


मेयरले जग्गा भाडामा दिएको खुलासा


1.378k
Shares

पोखरा । पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गासहित महानगरको विभिन्न क्षेत्रको जग्गा निजी क्षेत्रलाई भाडामा दिएको खुलासा भएको छ ।

महानगरले आफ्नै भवन निमार्णका लागि जग्गा खोजिरहेका बेला मेयरबाट बिदाई हुनु दुई दिनअघि जिसीले कार्यक्षेत्र मिचेर सो जग्गा नीजि क्षेत्रलाई भाडामा दिएको खुलेको हो ।

पर्यटन बसपार्कको जग्गा निजी कम्पनीलाई भाडामा दिएको गुनासो आएपछि पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले कागजात माग गर्नुभएको थियो । उपत्यका नगर विकास समितिबाट कागजात झिकाएर हेर्दा सो जग्गा नीजि क्षेत्रलाई भाडामा दिएको खुलेको हो ।

सबै जग्गा भाडामा दिने सम्झौतामा तत्कालिन मेयर जिसीकै हस्ताक्षर छ भने दोस्रो पक्षबाट सम्बन्धित कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौतामा सदस्य सचिवका हैसियतमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर हुनुपर्नेमा यो विषयमा सदस्य सचिव बेखबर पाइएको छ ।