Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राख्ने तयारी


1.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राखिने भएको छ । कामपाका मेयर वालेन्द्र साहले सबै वडालाई नियमित रुपमा फोहोर संकलन गरी टेकु ट्रान्सफर स्टेसनमा राख्न निर्देशन दिनुभएको छ ।

वातावरण व्यवस्थापन विभागले नियमित फोहोर संकलन गरी ट्रान्सफर स्टेशनमा ल्याउने व्यवस्था गरिसकेको छ । विभागका एक अधिकारीका अनुसार लगातार फोहोर आउने क्रमसंगै छोप्ने काम शुरु गरिनेछ । फोहोरलाई छोपेर राख्ने विषयमा कसैलाई जानकारी नदिएको बताउँदै ती कर्मचारीले भने– ‘एक सातादेखि ल्यान्डफिल साइटमा फोहोर नगएपछि मेयर साहले गोप्य रुपमा फोहोरलाई छोप्न निर्देशन दिनुभएको हो ।’ उनका अनुसार फोहोरलाई गन्ध नआउने केमिकल प्रयोग गरी ट्रान्सफर स्टेशनमा राखिने र ल्यान्डफिल साइट जाने बाटो खुल्नासाथ ट्रान्सफर स्टेशनबाट बञ्चरेडाँडा ल्यान्डफिल साइट लैजाने तयारी भएको छ ।

कामपा वातावरण व्यवस्थापन विभागले गन्ध नआउने केमिकल र फोहोर छोप्न प्रयोग हुन प्लास्टिक खरिद गर्ने तयारी गरेको छ । स्रोतका अनुसार मेयर साहले फोहोर छोप्न सामान खरिद प्रक्रिया अघि बढाइसक्नुभएको छ ।विभागका नगर प्रहरी पुर्णचन्द्र भट्टले स्थानीयको अवरोधको कारण नभई बाटो बिग्रिएकोले फोहोर व्यवस्थापन कठिनाई भएको बताउनुभयो । बाटो बिग्रेको कारण ६ दिनदेखि राजधानीको फोहोर सडकमै थुप्रिएको छ । घाम लागेको दिन एक दुई ट्रीप मात्र फोहोर लैजाने गरिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।