
काठमाडौं । सडकमा रातो बत्ती बल्नासाथ बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र काखमा केटाकेटी बोकेका महिला प्रत्येक सवारी चालकसँग हात फैलाउन थाल्छन् । ससाना बालबालिका जबरजस्ती मोटरसाइकल चालकको खुट्टा ढोग्दै माग्छन् । यात्रुले कुनै एउटालाई भीख दिए ती सबै तिनै व्यक्तिका वरपर झुम्मिन्छन् ।
काठमाडौंको नयाँसडक, जमल, दरबारमार्ग, बानेश्वर, कोटेश्वर, जडीबुटी, चाबहिल, चुच्चेपाटी, ललितपुरको सातदोबाटो, ग्वार्कोलगायतका चोकमा यस्ता दृश्य देखिन्छन् ।
विशेषगरी भारतीय मूलका बताउने नागरिक काठमाडौं र ललितपुरका मुख्य सडकका चोकमा निर्धक्कसँग माग्दै हिँड्ने गरेको पाइन्छ । उनीहरूमध्ये प्रायजसोले भारतको राजस्थानबाट आएको बताउने गरेका छन् । कतिपय यस्ता व्यक्ति विभिन्न संघसंस्थाले बनाइदिएका अनेकौैं सिफारिस बोकेर हिँडेका समेत भेटिन्छन् ।
केही समयअघि सरकारले सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियान नै सञ्चालन गरेर मगन्तेलाई उद्धार गर्दै मानव आश्रममा लगेर राख्ने वा सम्भव भएसम्म परिवारको जिम्मा लगाउने गर्दै आएको थियो । यस अभियानबाट केही समय त सडकपेटीमा माग्न बस्नेको संख्यामा निकै कम आइसकेको थियो । तर केही महिनायता समस्या बढ्न थालेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्