Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बजेट अधिवेशनको तयारी


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, वैशाख १८ । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउने तयारी थालेको छ ।

अधिवेशन बोलाउने तयारीस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार संघीय संसद बैठककक्ष अवलोकन गरेका छन् ।

त्यसअघि, अधिवेशन आह्वानकै विषयमा प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले छलफलसमेत गरिसकेका छन् ।

सामान्य अवस्थामा अहिलेसम्म संघीय संसदको बजेट अधिवेशन आह्वान भइसक्नुपर्ने हो ।

तर, कोरोना महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण बजेट अधिवेशन आह्वान हुन सकेको छैन ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने छ ।

जेठ १५ गतेलाई मध्यनजरमा राखेर सरकार छिट्टै बजेट अधिवेशन आह्वान गर्ने तयारीमा जुटेको छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले वैशाख २७/२८ गते बजेट अधिवेशन आह्वान हुनसक्ने जानकारी दिए ।

बजेट प्रस्तुत गर्नुअघि राष्ट्रपतिले संघीय संसदका दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने छ भने सदनमा प्रि–बजेट छलफल गर्नुपर्ने हुन्छ ।

यसपटक नीति तथा कार्यक्रम र प्रि–बजेट छलफलको लागि प्रयाप्त समय नहुने देखिएको छ ।

तर, अध्यक्ष तिमिल्सिना थोरै समयमा भएपनि प्रयाप्तरुपमा नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल गर्न सकिने बताउँछन् ।

अध्यक्ष तिमिल्सिनाले बजेट अधिवेशनको तयारी सँगसँगै स्वास्थ्य सुरक्षाको लागि पनि तयारी भइरहेको जानकारी दिए ।

सरकारले बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेसँगै संघीय संसद सचिवालय पनि आवश्यक तयारीमा जुटेको छ ।

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बैठक सञ्चालन गर्न आवश्यक पर्ने तयारी पूरा भइसकेको जानकारी दिए ।

प्रतिनिधिसभा नियमावली २०७४ अनुसार बजेट प्रस्तुत गरिने १५ दिनअघि पूर्वबजेट छलफल पूरा हुनुपर्ने छ ।

यस्तै, बजेटअघि नै राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ ।