Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


‘कोरोना महामारीले विश्वलाई चुनौतीसँगै ठूलो अवसर पनि दिएको छ’


0
Shares

काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद डा. शंशाक कोइरालाले कोरोनाभाइरसको महामारीले विश्व समुदायलाई ठूलो चुनौती सगँसँगै ठूलो अवसर पनि दिएको बताएका छन् ।

यसले गर्दा मानिसहरुलाई नयाँ सोच र विचारको बहस गर्न बाध्य पारेको उनले बताए ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाको आयोजनामा ‘कोभिड–१९ को महामारीमा नेपाल सरकारको तयारी र कोरोना कहरको महामारीपछिको अर्थ व्यवस्था र नेपाली कांग्रेसको भूमिका र भविष्य’ विषयमा ‘जुम भिडियो कल लाइभ’ बहसमा डा. कोइरालाले यस्तो विचार राखेका हुन् ।

बहसमा डा. कोइरालाले यो महामारीका बेला विश्वभर रहेका नेपालीहरुलाई सतर्क रहँदै स्वस्थ रहन पनि आग्रह गरे ।

महामन्त्री कोइरालाले कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व आउने दाबी गरे ।

उनले नेपालमा अब कृषि क्रान्तिले अर्थ व्यवस्था उकास्न सहयोग गर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाल सरकारले कोभिड–१९ रोक्न कुनै स्पस्ट कार्यक्रमको योजना नल्याएको र यस महामारीपछिको देशको अवस्थालाई सरकारले मूल्यांकन गर्न चुकेको बताए ।

उनले कांग्रेसले देशको निकास दिनका लागि सक्रियताका साथ अघि बढ्दै पार्टीको १४औं महाधिवेशन २१औं शताब्दीको ‘हाई टेक्नोलोजी’ प्रयोग गर्दै समयमै सम्पन्न गर्नुपर्ने बताए ।

कांग्रेसकी केन्द्रीय सदस्य, पूर्वउपप्रधानमन्त्री र गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले फाउन्डेसनमार्फत् देशैभर विकास निर्माणको बाटो अवलम्बन गर्दै कांग्रेसको संगठन मजबुत् बनाउनुपर्ने बताइन् ।

अध्यक्ष कोइरालाले सार्वजनिक स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउँदै सबै जनतालाई सरल र सुलभ स्वास्थ्य बिमा गर्नुपर्ने उल्लेख गरिन् ।

साथै, उनले फाउन्डेसनले देशमा प्रजातन्त्र मजबुत् गर्दै शान्ति र विकासका लागि कार्यहरु गर्दै जाने बताइन् ।

उनले सबैजनालाई स्वस्थ र सुरक्षित रहन आग्रहसमेत गरिन् ।

लाइभ जुम बहसमा अमेरिकालगायत विश्वभर रहेका गिरिजाप्रसाद कोइराला फाउन्डेसनसँग आबद्व संयोजक र सल्लाहकारहरु तथा ‘एनआरएनए’मा रहेका नेताहरुको उपस्थिति रहेको जीपी फाउन्डेसनले जनाएको छ ।