३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


घोराही बजार पुनः बन्द


0
Shares

दाङ, बैशाख १६ । घोराही उपमहानगरपालिकाले लकडाउन खुकुलो बनाउन मंगलबार बिहान ११ बजेदेखि खोलेको बजार जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ ।

बजार खोल्दा भीडभाड बढ्ने र संक्रमणको जोखिम बढेकाले बजार बन्द गराइएको हो । प्रदेश नं ५ मा कोरोनाको संक्रमण नदेखिएपछि  उपमहानगरपालिकाले यही वैशाख १४ गते लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको थियो ।

स्थानीय सरकारले गरेको निर्णयको अनुमोदन वैशाख १५ गते जिप्रकाले गरेको  उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उपमहानगरपालिकाले मंगलबार ३ बजेसम्म बजार खोल्ने निर्णय गरेकामा माथिको आदेश भन्दै प्रहरीले खुलेका पसल बन्द गराउँदै हिँडेको थियो ।

बिहान ११ बजे बजार खुलेको थाहा पाएपछि नगरवासी अत्यावश्यक सामान खरीदका लागि सडकमा देखिएका थिए ।

बजार बन्द भएपछि स्थानीय विपद् व्यवस्थापन समिति दाङले आफूले दिएको अनुमति फिर्ता लिँदै साताको तीन दिन बजार खोल्ने निर्णय गरेको छ ।

पहिले जस्तै आइतबार, मंगलबार र बिहीबार बिहान ६ देखि ९ बजेसम्म तरकारी बजार र अत्यावश्यक सामानका पसल खोल्ने निर्णय गरिएको हो ।

यसरी पसल खोल्दा सामाजिक दूरी कायम गर्न नागरिक र व्यवसायीलाई विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आग्रह गरे । रासस