३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


लकडाउन थप कडा पार्न गृहको परिपत्र, पास विनाका सवारीलाई रोक लगाउन निर्देशन


0
Shares

काठमाडौं, बैशाख १५ । गृह मन्त्रालयले लकडाउन थप कडा पार्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटामा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ ।

त्यसैले मन्त्रालयले सोमबारदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ ।