२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मूल्यवृद्धिविरुद्ध एमाले आन्दोलित


117
Shares

काठमाडौं । पेट्रोलियम पदार्थ र खाद्यान्नमा चर्को मूल्यवृद्धि भएपछि प्रमुख विपक्षी नेकपा एमालेले सडक र सदनबाट आन्दोलन गर्ने भएको छ। मूल्यवृद्धिले सर्वसाधारणको घरमा चुलो बल्ने अवस्था नभएको र जनतालाई पर्न गएको मर्काप्रति सरकार मौन बसेको भन्दै एमालेले सदन र सडकबाट आन्दोलन गर्ने भएको हो।

‘अस्वाभाविक मूल्यवृद्धि, मल अभाव, पुस्तक अभावजस्ता जनसरोकारका मुद्दामा सरकार बेखबर भयो,’ एमाले जनसंगठन समन्वय संयन्त्रकी सहसंयोजक रचना खड्काले भनिन्। उनका अनुसार सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने निर्णय गरिएको छ। एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकराल बन्दै गएकाले जनसरोकारका मुद्दालाई सडक र सदनबाट उठाउने निर्णय गरेको हो।

सदन र सडकमा कुन रूपमा आन्दोलन गर्ने भन्नेबारे सम्बन्धित जनवर्गीय संगठनहरूलाई आफैंले निर्णय गर्न निर्देशन दिइएको छ। ‘अहिले हामी सबै निकै अप्ठेरो अवस्थामा छौं। सरकार मौन छ। खाद्यान्नको मूल्यवृद्धिले आकाश छोएको छ। गत वर्ष सय रूपैयाँ हाराहारीको पेट्रोलियम पदार्थको मूल्य दोब्बर बढेको छ। सरकारले यो यस्तै हो भनेर जनतालाई सास्ती दिएको छ। यसबारे एमालेले जनताका आवाज लिएर सदन र सडकमा आफ्नो दायित्व पूरा गर्छ,’ सहसंयोजक खड्काले भनिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।