
१४ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले समस्याको समाधान भागेर होइन सामना गरेर मात्र गर्न सकिने बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीसँगको भेटमा गौतमले राजीनामा दिन सुझाव दिएको भन्ने समाचारहरु प्रकाशित भएपछि निकालिएको गौतमको प्रेस नोटमा भने उक्त प्रसंगबारे केही उल्लेख छैन ।
शनिबार ओलीसँग भएको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको भन्दै गौतमले राजीनामा दिन नसुझाएको आशय झल्काएका हुन् ।
गौतमको प्रेस नोटमा भनिएको छ, ‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ । उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ, भएको यत्ति हो ।’
अध्यादेशलगायतका समस्या समाधान गर्न पार्टी र पार्टी कमिटीमा प्रत्यक्ष छलफल गर्न र बाइपास नगर्न सुझाव दिएको गौतमले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्