काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेर चुनाव लड्ने पाँच दल बहुदलीय सिद्धान्तविपरीत उभिए भन्ने टिप्पणीको प्रतिवाद गर्नुभएको छ । नेपालले आइतबार राजधानीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा भन्नुभयो– ‘हिजो पञ्चायती व्यवस्थाको अन्त्यका लागि कांग्रेस–कम्युनिस्ट सबै एक भयौं, के त्यो बहुदलीय व्यवस्थाको विरोध थियो र ?’ उहाँले प्रस्ट पार्नुभयो– ‘निकै लामो आन्दोलन गरेर ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र नेपालको संविधान, २०७२ लाई बचाउन हामी गठबन्धनमा गएका हौं, मुद्दा हेरेर गरिएको चुनावी एकताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर होइन, मजबुत बनाउँछ ।
उहाँ तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम नलिई उहाँले दुई–दुई पटकसम्म संसद् विघटन गरेर व्यवस्था र संविधानलाई असफल बनाउन खोजेको आरोप लगाइरहनुभएको थियो । निर्वाचनका लागि भएको गठबन्धनमा आफ्नो दल एकीकृत समाजवादीलाई भने धेरै लाभ हुन नसकेको उहाँको विश्लेषण थियो । हैसियतका आधारमा उम्मेदवारका लागि टिकटको बाँडफाँट भएको तर आफ्नो दल नयाँ भएका कारण अन्य दलले एकीकृत समाजवादीलाई हैसियतभन्दा न्यून परिमाणमा टिकट दिएको विश्लेषण गर्नुभयो । स्थानीय निर्वाचनमा एक महानगरपालिका र एक उपमहानगरपालिकालगायतका धेरै स्थानमा विजय हासिल गरेर मुलुकको चौथो ठूलो दल बन्न सफल एकीकृत समाजवादी अब आगामी मंसिरमा हुने संघीय र प्रादेशिक सभाको निर्वाचनमा केन्द्रित भएको छ ।
‘अहिले म बालुवाटारमा सम्पन्न निर्वाचन समीक्षा बैठकमा भाग लिएर आउँदै छु, विगत निर्वाचनमा भएका कमजोरी सच्याउनुपर्छ भन्नेमा हामी सबै पाँच दल सिद्धान्ततः सहमत छौं’ अध्यक्ष नेपालले सहमतिको कुरा गरे पनि सत्ताधारी गठबन्धनका दलले सिट बाँडफाँटको आधार बनाउन भने सकेका छैनन् । नेपाली कांग्रेस एक्लै बहुमतको दल बन्ने गरी प्रत्यक्ष संघीय निर्वाचनका १६५ सिटलाई भाग लगाइरहेको छ भने माओवादी केन्द्र र जनता समाजवादी पनि बढीभन्दा बढी सिटको दाबी गरिरहेका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्