खिलनाथ ताजपुरिया (इमेज)
काठमाडौं, वैशाख १० । सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुईओटा अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेकपाभित्र शीर्ष नेताबीच खटपट सुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ७१औं स्थापना दिवसको असरमा बुधबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छुट्टा–छुट्टै विज्ञप्ति जारी गरे ।
त्यसमा प्रयोग भएको भाषाले नेकपाभित्र नेताहरुमा एकार्काप्रति कति अविश्वास छ भन्ने प्रष्ट हुन्छ ।
गत सोमबार सरकारले ल्याएका दुई अध्यादेशले नेकपाभित्र खैलाबैला चलिरहँदा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले नेपाल कम्युनिस्ट पार्टीकोे ७१औं स्थापना दिवसको अवसरमा छुट्टा–छुट्टै वक्तव्य जारी गरे ।
अध्यक्षद्वयको वक्तव्यमा उल्लेख गरिएको भाषाशैलीले शीर्ष नेताबीच बढ्दो दूरीलाई प्रष्ट पार्छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुर्नगठन र सुदृढ एकताको महान अभियानलाई अघि बढाएको उल्लेख गरेका छन् ।
अर्का अध्यक्ष दाहालले भने देशी–विदेशी प्रतिक्रियावादी शक्तिले पार्टीलाई कमजोर पार्न निरन्तर प्रयत्न गरिरहेको उल्लेख गरेका छन् ।
राजनीतिक विश्लेषक हरि रोक्का स्थापना दिवसको दिन अध्यक्षद्वयले फरक–फरक वक्तव्य जारी गर्नु असान्दर्भिक भएको टिप्पणी गर्छन् ।
यता, अर्का राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी अध्यक्षद्वयको विज्ञप्तिले नेकपाभित्रको बेमेललाई उजागर गरेको बताउँछन् ।
अध्यादेशले नेकपाभित्रको पूर्वमाओवादी पंक्तिलाई झस्काएको छ ।
प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश नेकपाभित्र लक्षित नभएको जिकिर गरिरहे पनि पूर्वमाओवादी पंक्ति आश्वस्त हुन सकेको छैन ।
पूर्वएमालेभित्रको अर्को खेमा पनि प्रधानमन्त्री ओलीसँग चिढिएको छ ।
यसले नेकपाभित्र सांगठनिक एकता भएपनि भावनात्मक एकताको ठूलो खाडल देखिएको छ ।
स्थापना दिवसको दिन अध्यक्षद्वयले जारी गरेको विज्ञप्तिले पनि त्यसलाई थप पुष्टि गरेको छ ।









प्रतिक्रिया दिनुहोस्