काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले ल्याएको अध्यादेश लोकतन्त्र विरोधी कदम भएको बताएको छ ।
नेपालको संविधानको मूल्य, मान्यता र आदर्शलाई वेवास्ता गर्दै राजनैतिक दलहरुमा टुट फुट र विभाजन ल्याउने, संवैधानिक परिषदमा प्रतिपक्ष दलको भूमिकालाई न्यूनिकरण गरि मुलुकको राजनीतिलाई पुनः अस्थिरतातर्फ धकेल्ने गरी ल्याइएका दुई अध्यादेश असान्दर्भिक, औचित्यहिन र लोकतन्त्रको खिलाफ रहेको बताएको हो ।
ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले विज्ञप्ती जारी गर्दै वर्तमान परिस्थितिमा रोग र भोकवाट पिडित लाखौं श्रमजीविको सुरक्षातर्फ केन्द्रित हुनु पर्नेमा वर्तमान संकटको मौका छोपि अधिनायकत्व लाद्ने दिशातर्फ उन्मूख कपटपूर्ण कदमप्रति गम्भिर आपत्ति जनाएका छन् ।
प्रेस विज्ञप्ति
कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीले सिङ्गो मानव जातिलाई आतङ्कित बनाई रहेको यस संकटपूर्ण घडिमा महामारीको रोकथाम र नियन्त्रणका लागि झण्डै एक महिना देखि मुलुक पूर्णरुपमा लकडाउनमा रहेको छ ।
यस्तो विषम परिस्थितिमा मिति २०७७।०१।०९ गते नेपाल सरकारद्वारा संवैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्वन्धि पहिलो संशोधन २०७७ र राजनैतिक दल सम्वन्धि (दोश्रो संशोधन अध्यादेश २०७७) पारित गरि राष्ट्रपतिवाट तत्काल जारी गरेको दुई अध्यादेश प्रति यस महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
मुलुकको आम नागरिक समुदाय कसरी कोभिड १९ को प्रकोपवाट सुरक्षित हुने र निरन्तरको लकडाउनको कारण रोजगारविहिन हुन पुगेका आम श्रमजीवी जनताहरु दैनिक जिविकोपार्जन कसरी गर्ने चिन्ताले ग्रसित रहेको अवस्था छ ।
यतिवेला सरकारको प्रमुख दायित्व भनेको महामारीको रोकथाम र नियन्त्रणमा देखिएका कमि कमजोरीहरुको समाधान गर्दै यसको दूरगामी प्रभाववाट देश र जनतालाई वचाउन आगामी वर्षको नीति तथा कार्यक्रम एवं वजेटका माध्यमवाट कसरी सम्वोधन गर्न सकिन्छ भन्ने मान्यता राख्दै राष्ट्रिय स्तरमा आम सहमति कायम गर्दै गम्भिररुपले गृहकार्यमा जुटनु पर्ने थियो ।
तर, नेपालको संविधान, २०७२ को मूल्य, मान्यता र आदर्शलाई वेवास्ता गर्दै राजनैतिक दलहरुमा टुट फुट र विभाजन ल्याउने, संवैधानिक परिषदमा प्रतिपक्ष दलको भूमिकालाई न्यूनिकरण गर्ने दूरासयले मुलुकको राजनीतिलाई पुनः अस्थिरतातर्फ धकेल्ने गरी ल्याइएका दुई अध्यादेश अत्यन्त असान्दर्भिक, औचित्यहिन र लोकतन्त्रको खिलाफ रहेको यस महासंघको ठहर छ ।
वर्तमान परिस्थितिमा रोग र भोकवाट पिडित लाखौं श्रमजीविको सुरक्षा तर्फ केन्द्रित हुनु पर्नेमा वर्तमान संकटको मौका छोपि अधिनायकत्व लाद्ने दिशातर्फ उन्मूख उक्त कपटपूर्ण कदम प्रति यस महासंघ गम्भिर आपत्ति व्यक्त गर्दछ ।
तसर्थ, सार्वभौम संसदलाई वाइपास गरी ल्याइएका दुवै अध्यादेश तत्काल फिर्ता गर्न यो महासंघ सरकार संग जोडदार माग गर्दछ । कोरोना भाइरस (कोभिड १९) ले ल्याएको हालको संकटको सामना गर्न सवै एकजुट भई अघि बढनुको विकल्प छैन ।
कोरोनाको प्रकोपवाट आम जनताको जीवन सुरक्षित गर्न सवै राजनीतिक दल, सम्पूर्ण श्रमजिवि बर्ग एवं आम नागरिक समुदाय वीच उच्च स्तरको वृहत्तर राष्ट्रिय एकता कायम गरी अघि बढ्न सवैमा यस महासंघ सवै हार्दिक आव्हान गर्दछ ।
धन्यवाद (जय नेपाल)
योगेन्द्र कुमार कुँवर
महासचिव









प्रतिक्रिया दिनुहोस्