Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


निर्वाचन लगत्तै मन्त्री परिवर्तन


312
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो । आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री परिवर्तन गर्न लागिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

सोहीअनुसार पार्टीले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको काठमाडौंस्थित आलोकनगर पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ नामावली सिफारिस गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउने सहमति भए पनि निर्वाचनपछि बोलाउनुपर्ने सुझाव आएको थियो ।

स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउँदा नराम्रो सन्देश जाने भएकाले केही समयका लागि रोकिएको थियो ।एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय भएको बताए । बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको बताउँदै खनालले भने, ‘हामीले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेका छौं । अब उहाँहरू फिर्ता आउनुहुन्छ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।