२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पिपिई पाएपछि एम्बुलेन्स चालकलाई सेवा प्रवाह गर्न सहज


0
Shares

दमौली, बैशाख ७ । व्यास नगरपालिका–१ निवासी आइतराम विक विगत लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत छन् ।

उनले यस अवधिमा थुप्रै बिरामीलाई सेवा प्रवाह गरिसकेका छन् । एम्बुलेन्स चालकका रुपमा काम गर्दा उनलाई विगतमा भन्दा अहिले थप चुनौती छ ।

र्कोभिड–१९ को जोखिम रहेको अहिलेको समयमा सामान्य ज्वरो आएको र रुघाखोकी लागेको बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउनु उनको दायित्व पनि हो । तर, व्यक्तिगत सुरक्षा कवज (पिपिई) को अभावमा उहाँलाई असहज महसुस भइरहेको थियो । चुनौतीका बाबजुद पनि उनले आफ्नो धर्म निर्वाह गरिरहेका छन् ।

तनहुँको व्यास नगरपालिकाले उनीसहित नगर क्षेत्रभित्र सञ्चालित एम्बुलेन्स चालकलाई पिपिईसहित स्वास्थ्य सामग्री प्रदान गरेपछि उनलाई सुरक्षित सेवा प्रवाह गर्न सहज भएको छ । “एम्बुलेन्स चालक भइसकेपछि जस्तोसुकै बिरामीलाई पनि स्वास्थ्य संस्थासम्म लैजानु धर्म हो, तर सुरक्षित स्वास्थ्य सामग्री नहुँदा जोखिम थियो”, विकले भने, “नगरपालिकाले पिपिई, पञ्जा, बुटलगायत सामग्री दिएपछि सुरक्षित हुने भइयो ।”

लोकप्रिय स्वास्थ्य क्लिनिकद्वारा सञ्चालित एम्बुलेन्स चालक विकले अहिलेको महामारीको अवस्थामा पनि बिरामीलाई दैनिक सेवा दिएका छन् ।  । “एम्बुलेन्स चालक भइसकेपछि २४सै घण्टा खट्नुपर्ने बाध्यता छ, जहाँ पनि जान पर्न सक्छ”, विकले भने, “विपद्को अवस्थामा पनि सेवा दिइरहेको छु ।” व्यास नगरपालिका–१४ निवासी सुरज विकले नगरपालिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएपछि सेवा प्रवाहमा खट्न प्रेरणा मिलेको बताए ।

व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित एम्बुलेन्स चालकलाई पिपिईसहित स्यानिटाइजर, बुट, पञ्जालगायत वितरण गरेपछि एम्बुलेन्स चालक खुशी भएका छन् ।

नीजी अस्पताल एशोसिएसन तनहुँका अध्यक्ष चूडामणि दाहालले विपद्को अवस्थामा पनि निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्सहरुले सहज रुपमा सेवा दिइरहेको जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमणबाट एम्बुलेन्स चालक पनि बढी जोखिममा रहने भएकाले नगर क्षेत्रभित्र सञ्चालित पाँच वटा एम्बुलेन्स चालकलाई पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा कवजसहित स्वास्थ्य सामग्री वितरण गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार धरानबाट खरिद गरेर ल्याइएको स्वास्थ्य सामग्री चालकलाई उपलब्ध गराइएको छ ।

नगरपालिकाले केही दिन अगाडि मात्रै नगरभित्र सञ्चालित चार निजी अस्पताललाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । “नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म जोखिममा रहनेहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउँछौँ”, नगरप्रमुख न्यौपानेले भने ।

नगरपालिकाले रत्नहरि अस्पताल, एपोलो अस्पताल, लोकप्रिय स्वास्थ्य क्लिनिक, व्यास नगर अस्पताल र भूपू सैनिक क्लबबाट सञ्चालित एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । नगरपालिकाले नगरक्षेत्रभित्र रहेका २७ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई पनि ६४ थान पिपिई वितरण गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तका अनुसार स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई उक्त सामग्री वितरण गरिएको छ । “स्वास्थ्य सामग्री पाएपछि काम गर्नका लागि स्वास्थ्यकर्मीलाई प्रेरणा मिल्ने विश्वास लिएका छौँ”, उनले भने । रासस