Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन गगन थापाको माग

‘पेट्रोलियम ऐन ल्याएर अगाडि बढौं’

130
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभएको छ ।

महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

‘पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय बजारबाट किन्दा ६० पैसा मात्रै प्रशासनिक खर्च हो,’ उहाँले भन्नुभयो, ‘आयल निगम छैन भन्ने मान्ने हो भने पनि एक लिटर जम्मा ६० पैसा मात्रै कट्ने हो, बाँकी त हाम्रो कर हो, पूर्वाधार कर हामीले घटायौं, अरु पनि घटाएर जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो ।

महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले सरकारले १० वर्षभित्र डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताउनुभयो ।

त्यसो हुन नसकेको खण्डमा मुलुकलाई झनै मार पर्ने महामन्त्री थापाको भनाइ छ । उहाँले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने काममा पनि ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

‘हाम्रो स्टोरेज ६ महिनाको होइन, ८/१० दिनको मात्रै छ, हामीले स्टोरेज क्यासिटी बढाउनैपर्छ,’ उहाँले थप्नुभयो, ‘कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्पबारे पनि सोचौं, माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–पेट्रोलियम ऐन चाहियो, त्यसले बाटो देखाउँछ ।’

Skip This