Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


गाउँ फर्किरहेका पैदलयात्री भन्छन: सिंहदरबारका ठूला मान्छे सार्‍है निर्दयी रहेछन (भिडियो)


0
Shares

-गृष्मा राजभण्डारी र भरत केसी(ईमेज)

काठमाडौ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले जारी गरेको लकडाउनको समयावधी बढ्दै गएपछि आम नेपाली प्रभावित हुँदै गएका छन् ।

अझै बिहान बेलुका श्रम गरेर दुई छाक टार्नेहरु झन बिचल्लीमा परेका छन् ।

विभिन्न ठाउँमा श्रम गर्ने मजदुरहरु पैदल यात्रा गरेर आफ्नो पुख्र्याैली थलोमा फकँदा पाएको पीडाले सत्ता संचालकलाई भने पटक्कै छोएको छैन ।

दूर्भाग्य, दुःखका बेला न श्रम लिने साहू काम लाग्यो, न बास दिने घरधनी । न मत लिने सरकार नै आफ्नो बनिदियो ।

भोक, प्यास र थकानले वैशाखको टन्टलापुर घाममा सडक नापिरहेकाहरुमाथि एक घुट्को पानीनदिने सरकार पुलिस बनेर लाठो बजार्न आइपुग्छ ।

पछिल्ला दिनमा यस्ता पीडाका कहानी लेख्नेहरु पूर्व–पश्चिममात्र होइन, उत्तर–दक्षिणका सडक पनि पटपट फुटेका पैतालाले पार गदैछन् ।

रहरले सडकमा निस्केको ठान्नेहरुले दोलालघाटबाट चार दिनमा पैदलै काठमाडौंको कलंकी आइपगेका रामबहादुरको यो भनाइ सुनुन् ।

दैनिक मजदुरी गरेर जीवन निर्वाह गरिरहेका उपायविहीन रामबहादुर केही बाटो खर्च जोहो गरी तीन साथीसहित दाङपुग्ने आँटका साथ यहाँ आइपुगेका हुन् ।

ज्यानले धान्न सक्ने कुम्लो बोकेका उनीहरु बाटोमा भेटिएका सहयोगी मनहरुले दिएका खानेकुरा पेटमा हाल्दै एकनास हिंडिरहेका छन् ।

थाकेर लखतरान बनेको शरीर, बीचबीचमा सरकारी प्रहरीको गाली उपहार । यसले थपिदिएको छ, कुम्लोमाथि मानसिक तनाव ।

हारगुहारले सुरक्षाकर्मीको मन पग्लिए यात्रा अघि बढ्यो, अन्यथा सडकमै लाचार हुँदै अलपत्र बन्नुको विकल्प छैन ।

सिन्धुपाल्चोकदेखि बर्दिया जान हिडेको अर्को जमातको उस्तै छ, पीडा । काम गर्दै आएको ठाउँमा पारिश्रमिक नपाएपछि भोकै मर्नुभन्दा घर फिर्नु उचित ठानेर केहीदिनमा बालाजु चोक पुगेका छन् ।

तर सिंहदरबारको आदेश तामेल गर्ने प्रहरी कस्तै हारगुहारबाट पनि टसको मस भएन । अगाडी बढ्न नदिएपछि निराश भएर फर्कन बाध्य बने ।

हाम्रो टोली नागढुंगा पुग्दा भेटिए सल्यान जान हिडेको ११ जनाको टोली । न घामको परवाह न थकाई ।

एकनासले सडक नापिरहेका उनीहरु भन्छन्, दश दिनमा गृहजिल्ला सल्यान पुग्छौं । 

उसो त यो पीडादायी यात्रामा सिंहदरबारका ठूला मानिसहरुको आदेश तामेली गर्ने निर्दयी मन मात्र भेटिन्नन् ।

आफ्ना घर आँगनबाट अलपत्र पैदलयात्री गन्तव्य तताइरहेका देख्दा पानीदेखि खाजासम्म व्यवस्था गरिदिने कोमल मनहरु पनि छन् ।

कतिपयले सामान ढुवानी गर्ने गाडीमै पनि यस्ता यात्रुलाई पठाउने गर्दा रहेछन् तर सुरक्षा जाँचका क्रममा प्रहरीले जताबाट ल्यायो त्यतै फर्काउँदा अमिलिएको मन पनिउत्तिकै छ ।

घरभित्रै बिलखबन्दमा पर्नेहरुका कहानी त यस्तो छ भने बिरानो भूमिमा टुहुरा बनेका लागि कसले बोलिदिने ?

अझ भारत र नेपालबीच त अलपत्र व्यक्तिलाई लकडाउन अवधिभर आ–आफ्नै भूमिमा राख्ने सहमति पनि बनेको थियो ।

एक साता कालागि गरिएको लकडाउन महिना दिन लम्ब्याउँदा हुँदा खाने वर्गकाहरु कुन अतिसाध्य पीडामा होलान् भन्ने हुनेखाने सत्ताधारीहरुले सोचेर तत्काल उचित निर्णय लिउन् ।