Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


मधेश प्रदेशको बजेट खर्च ३१ प्रतिशत मात्रै


91
Shares

काठमाडौं । मधेश प्रदेशमा बजेट खर्च निराशाजनक देखिएको छ ।

आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हुँदासमेत सरकारको खर्च जम्मा ३१ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्षमा ३४ अर्ब २२ करोड सात लाख बजेट विनियोजन गरिएकोमा हालसम्म जम्मा १० अर्ब ६१ करोड २४ लाख रुपैयाँ बराबरमात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै, चालुतर्फ कुल विनियोजित बजेटको ४१ प्रतिशत र पँुजीगत तर्फ २२ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फको बजेट खर्च सन्तोषजनक नै देखिए पनि पुँजीगत अर्थात विकास बजेट खर्च अत्यन्त दयनीय देखिएको छ ।

पुँजीगत तर्फ सरकारले १९ अर्ब १२ करोड विनियोजन गरेकोमा ४ अर्ब २४ करोड ९८ लाख मात्र खर्च भएको कार्यालयले जनाएको छ । चालुतर्फ सरकारले १५ अर्व २१ करोड बजेट विनियोजन गरेकोमा ६ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ ।

संघीय सरकारले प्रदेशलाई न्यून बजेट दिएको भन्दै मधेश प्रदेशले हरेक वर्षजसो असन्तुष्टि जनाउने गरेको छ । तर, खर्च गर्न भने सरकार चुकेको छ ।