Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


काठमाडौंमा ४८ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

भरतपुरमा रेणुको जित निश्चित

4.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता झन् फराकिलो बनेको छ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ४८ हजार ८९ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ। नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले २९ हजार १ सय ८० प्राप्त गर्नुभएकाे छ । साथै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले २८ हजार ३ सय २६ मत प्राप्त गर्नुभएकाे छ ।

उता, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले ३६ हजार ९ सय ३८ मत प्राप्त गर्दा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २१ हजार ७ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

साथै चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी उम्मेदवार रेणु दाहाल विजय हुने पक्का भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी रेणुले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीसँग १२ हजार बढी मतको अग्रता लिनुभएको छ ।

जबकी त्यहाँ अब १० हजार मत मात्रै गन्न बाँकी रहेकाे छ । रेणुले अहिलेसम्म ५१ हजार १ सय १२ मत पाउनुभएको छ भने सुवेदीले ३८ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ । साथै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २७ मत प्राप्त गर्नुभएको छ। साेही महानगरकाे उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको जित पनि निश्चित भईसकेको छ।

पोखरा महानगरपालिकामा गठबन्धन तर्फका नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्य ५४ हजार ३ सय ७८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापा ४९ हजार ६ सय १० मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ।

त्यस्तै, वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार राजेशमान सिंहले ४३ हजार १ सय ३२ मत प्राप्त गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीले २२ हजार ८९ मत प्राप्त गर्नुभएको छ ।