काठमाडौं । नेपालको तीनदिने भ्रमणमा आएका अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मामिला संयोजक उजरा जेयाले शनिबार तिब्बती शरणार्थीसँग भेटेर शिविरको भौतिक एवं अन्य सुविधा, स्वास्थ्य, शिक्षाका साथै कानुनी हैसियत, चिन्ता र चासोको बारेमा छलफल गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार यो भेट परराष्ट्र मन्त्रालय अर्थात् नेपाल सरकारको जानकारीबिना नै भएको हो । परराष्ट्र मन्त्रालयले जेया काठमाडौं आइपुग्नु केही समयअघि गत शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले अमेरिकी उपमन्त्री जेयाले तिब्बती शरणार्थीबारे भेट गर्ने सम्बन्धमा मन्त्रालयलाई जानकारी नभएको बताउनुभएको थियो ।
उहाँले नेपाल–अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको अवसरमा यो भ्रमण भएको र भ्रमणमा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने बताउनुभएको थियो । साथै उहाँले अमेरिकी राष्ट्रपतिले आयोजना गर्नुभएको ‘लोकतन्त्र शिखर सम्मेलन’ मा नेपालले गरेको प्रतिबद्धताको कार्यान्वयनको अवस्थाबारे अमेरिकी उपमन्त्री जेयाले चासो राख्न सक्ने बताउनुभएको थियो । यहाँनिर प्रश्न उठ्नु स्वाभाविकै हो, के यो भेट सरकारको जानकारीबिना नै भएको हो वा सरकारले जानकारी भएपनि बताउन नचाहेको हो ?
यदि सरकारको जानकारी बिना भएको हो भने प्रोटोकलको उल्लंघन भयो कि भएन ? सरकारले भेटबारे थाहा पाएपछि कस्तो प्रतिक्रिया जनायो ? सरकार आफैंले यो भेटको सहजीकरण गरिदिन किन नहुने ? भेटका लागि सहजीकरण गर्न नसक्ने परिस्थिति हो भने सरकारले यो भ्रमण टार्न किन नसकेको रुतिब्बती शरणार्थीसँगको भेट र छलफलबारे सरकारलाई थाहा नहुनु आफैंमा हास्यास्पद छ । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा तिब्बतको निर्वासित धार्मिक नेता दलाई लामा र तिब्बती छायाँ सरकारका प्रमुख पेन्पा छिरिङसँग भेटेर नेपाल आउनुभएका अमेरिकी उपमन्त्री जेयाले नेपालमा रहेका तिब्बती शरणार्थीका बारेमा पनि चासो राख्ने कुरा लुकेको तथ्य होइन ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्