खिलनाथ ताजपुरिया (इमेज)
काठमाडौं, चैत २८ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कोरोना संक्रमणको महामारीविरुद्ध सबै राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव गरेर राजनीतिक तरंग सिर्जना गरिदिएका छन् ।
दाहालको प्रस्तावबाट राजनीतिमात्र होइन, बौद्धिकजगतसमेत तरंगित र विभाजित देखिएको छ ।
इमेज च्यानलसँगको अन्तर्वार्ताका क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नयाँ राजनीतिक प्रस्ताव बहसमा ल्याइदिएका छन् ।
राजनीतिका चतुर खेलाडी दाहालको यो प्रस्तावले सार्थकता पाउला/नपाउला, उनकै पार्टीभित्र अनुमोदित होला/नहोला, त्यो समयक्रममा देखिने नै छ ।
सबै राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्तावले राजनीतिमात्र होइन, बौद्धिकजगत समेत ध्रुवीकृत हुने देखिएको छ ।
वाम विश्लेषकहरु दाहालको प्रस्तावको पक्षमा देखिएका छन् भने अरुले दाहाल प्रस्तावलाई अनावश्यक ठानेका छन् ।
वाम विश्लेषक श्याम श्रेष्ठ राजनीतिक शक्तिलाई एकताबद्ध बनाइ संकटविरुद्ध लड्ने परिकल्पनालाई उचित ठान्छन् ।
अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य झन्डै दुईतिहाइ शक्तिसहितको सरकारले गरिरहेको कामलाई निरन्तरता दिनु उचित हुने ठान्छन् ।
उनले राजनीतिक संयन्त्रको प्रस्तावलाई अनुचित ठानेका छन् ।
कोरोनाभाइरसको महामारीबाट विश्व नै त्रसित छ । यो बेला सम्बन्धित देशको सरकारले नै आफ्नो बलबुताले भ्याएसम्म महामारीविरुद्ध लडिरहेको स्थिति छ ।
नेपालमा पनि सरकारले आफ्नो क्षमताअनुसार महामारी रोक्न अनेक उपायहरु अवलम्बन गरिरहेको बेला सत्ताधारी दलकै अध्यक्ष दाहालबाट आएको प्रस्तावले अनेक प्रश्नहरु उब्जाएको छ ।
यो प्रस्ताव नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गर्ने सम्भावना कमै देखिन्छ ।
प्रधानमन्त्रीको धारणा बुझ्न हामीले उनका प्रेस सल्लाहकार सूर्य थापासँग कुराकानी गर्ने प्रयास गरेका थियौं । तर, उनले औपचारिक प्रतिक्रिया दिन चाहेनन् ।
प्रधानमन्त्रीकै नेतृत्वमा राजनीतिक संयन्त्र बनाउने प्रस्ताव ओलीले स्वीकार नगर्ने हो भने दाहाल प्रस्ताव तुहिने देखिन्छ । नेकपाभित्र दाहाललाई तौलने तराजुका रुपमा पनि यो प्रस्तावलाई हेरिएको छ ।









प्रतिक्रिया दिनुहोस्