३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो


0
Shares

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ ।

विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् ।

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ ।

यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् ।

यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो । जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ ।

अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ, र यो अवस्था विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि तर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर अडकलबाजी गर्नेहरुप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गरेका छन् । 

राष्ट्रपति ट्रम्पले बिमान सेवालाई कसरी मद्दत गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायात मन्त्रीसँग विचारविमर्श गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन सप्ताहान्तमा एउटा प्रस्ताव अघि बढाउन लागेको जानकारी दिए ।

अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।