काठमाडौं । कृषि तथा पुशपंक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिस्थितिले नेपालमा पनि भोकमरीको अवस्था आउन सक्ने खतरा औल्याएका छन् ।
अहिलेका अवस्थामा देशभित्र कृषि क्षेत्रमा प्रभावकारी हस्तक्षेप नहुने हो भने भोकमरीको चपेटामा पर्न सक्ने मन्त्री भुसालको ठहर छ ।
स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् ।
अहिले देखा परेका सामाजिक–आर्थिक चुनौतीको सामना गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले त्यसका लागि नयाँ संकल्प र योजना आवश्यक परेको बताए ।
आफैं केही समय अगाडि सार्वजनिक गरेको नेपालको कृषि क्षेत्र सुधारका पाँच नीतिबाटै कोरोना महामारी पछि निम्तन सक्ने सम्भावित संकट थेग्ने पनि उनले उल्लेख गरेका छन् ।
त्यसका लागि स्थानीय सरकारसँग मन्त्री भूसालले सहयोग मागेका छन् । उनले मन्त्रालयले तीनै तहका सरकारसँगको समन्वयमा मात्र आगामी वर्षको बजेट ल्याउने यसअघि नै स्पष्ट पारिसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्