काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २४ करोड रूपैयाँ छुट्याएको छ। तर, लक्षित क्षेत्रसम्म मतदाता शिक्षाका लागि विनियोजित रकम र कार्यक्रम नपुग्दा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मत बदर संख्या विगतमा भन्दा अझ बढ्ने देखिएको छ।
सूचना तथा सञ्चारका साथै शिक्षाको पहुँच नभएको वर्गलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुको साटो आयोगले निकट र पहुँचवालालाई मात्र यस्तो शिक्षा प्रदान गरेको छ। अझ सचेत वर्गको पहुँचमा रहेको सामाजिक सञ्जालसहित माध्यम र मिडिया लक्षित कार्यक्रममा खर्च गर्दा लक्षित वर्ग मतदाता शिक्षाबाट वञ्चित हुन पुगेका छन्। साथै मतपत्रको आकार ठुलो र चुनाव चिह्न धेरै भएकाले पनि मतदाता अलमलमा पर्ने देखिएको छ। विभिन्न दलहरूबीच थरीथरीका गठबन्धनसहित तालमेलका कारण चुनाव चिह्न फरकफरक हुँदा मतदाता अलमल पर्ने देखिएको हो।
सबैभन्दा धेरै मतदाता भएको काठमाडौं उपत्यकामा ८० वटा चुनाव चिह्न भएको मतपत्र हुनेछ। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी ८० वटा चुनाव चिह्नबाट मतदाताले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य, खुला सदस्य दुईजना गरी सातजना उम्मेदवार छान्नुपर्नेछ। त्यसका लागि मतदाता शिक्षा निकै आवश्यक देखिन्छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्