१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नागार्जुन नगरपालिकाका सबै वडामा राहत वितरण शुरु


0
Shares

काठमाडौं, चैत २४ । काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ ।

कोभिड –१९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण शुरु भएको हो ।

जीवन धान्न समस्यामा परेका घरपरिवारलाई राहत वितरण शुरु गरिएको नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले जानकारी दिए ।

नगरपालिकाले तीन भन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल, एक केजी चिनी र दुई  साबुन  दिएको छ ।

त्यस्तै तीनभन्दा कम भएका परिवारलाई त्यसको आधा वितरण गरिएको उपप्रमुख अधिकारीले बताए । नगरपालिकाले राहत र कोरोना नियन्त्रणमा खर्च गर्न आफ्नो विपद् व्यवस्थापन राहत कोषबाट प्रत्येक वडालाई रु चारचार लाख विनियोजन गरेको छ ।

नगरपालिका वडा नं ८ स्थित भीमढुङ्गा स्वास्थचौकीमा नौ शय्याको आइसोलेशन बेड पनि निर्माण भएको छ । साथै स्वास्थ्यकर्मीको जीवनरक्षाका लागि सुरक्षा कवच पिपिईलगायत आवश्यक औषधि प्रत्येक स्वास्थ्य संस्थामा वितरण गरिएको बताइएको छ । रासस