Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


वीरगन्जमा कस्सिंदै सत्ता गठबन्धन


104
Shares

वीरगन्ज । स्थानीय निर्वाचनका लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)ले वीरगन्ज महानगरपालिकामा मेयरको टिकट पाउने भएपछि गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र असन्तोष देखिएको थियो। अनेकौं असन्तुष्टि र गुनासा व्यवस्थापन गर्दै कांग्रेससहितका गठबन्धन दल यतिखेर आफ्ना मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन कस्सिएर लागेका छन्। सत्ता गठन्धनबाट जसपाका राजेशमान सिंह ९श्रेष्ठ० मेयर र कांग्रेसका इम्तियाज आलम उपमेयरका उम्मेदवार छन्।

आलम विद्यार्थी राजनीतिबाट खारिएका चर्चित युवा नेता हुन्। गठबन्धनमा आबद्ध सबै दलका जिल्ला नेताहरूको उपस्थितिमा शुक्रबार वीरगन्जमा ‘साझा प्रतिबद्धतापत्र’ सार्वजनिक गरिएको छ। एउटै मञ्चमा उभिएर नेताहरूले गठबन्धनलाई जिताउन कुनै कसर नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जित सुनिश्चित रहेको दाबी गरेका गठबन्धन दलका नेताहरूमा आत्मविश्वास पनि प्रबल देखिन्छ। साझा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रमको अध्यक्षता गरेका कांग्रेस पर्सा सभापति जनार्दन सिंह क्षेत्रीले वीरगन्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन पाँचवटै दल एकढिक्का भएर लागिपरेको दाबी गरे।

जसपाका नेता एवं मेयरका उम्मेदवार सिंह (श्रेष्ठ) लाई कांग्रेसले भोट नदिने हल्ला विपक्षीले चलाएका हुनाले त्यसमा कुनै सत्यता नरहेको दाबी उनले गरे। गठबन्धनमा कांग्रेसले राजनीतिक बेइमानी होइन, राजनीतिक धर्म निर्वाह गर्ने उनको भनाइ थियो।‘कुनै द्विविधा छैन। गठबन्धन बनाइएपछि सुरुमा कांग्रेसभित्र केही अन्योल रहेको भन्ने सही हो। तर अहिले त्यस्तो अन्योल हटिसकेको छ। हामी गठबन्धनका दुवै उम्मेदवारलाई जिताउत दृढसंकल्पित छौं,’ क्षेत्रीले भने, ‘गठबन्धनका पाँचवटै दलका लागि यो प्रतिष्ठाको सवाल हो। आ–आफ्नो पार्टीका नेताकार्यकर्तालाई गठबन्धनका साझा उम्मेदवारलाई जिताउन स्पष्ट निर्देशन छ ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।