Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


लकडाउनका कारण यसवर्षको गैंडा गणना रोकियो


0
Shares

चितवन । गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यस वर्ष गणना नहुने भएको छ ।

यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी भएपछि स्थगित गरिएको हो ।

सुरुमा चैत १ गतेबाट गणना गरिने भनिए पनि मौसमको प्रतिकूलताका कारण पछाडी सारिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार गैंडा गणनाका लागि चैत उपयुक्त महिना हो ।

फागुनमा चिसो, हिलो र झाडी हुने भएकाले उपयुक्त मानिदैँन । वैशाखमा गर्मी र डढेलोका कारण जोखिम मानिन्छ ।

अघिल्लो गणना वैशाख १० गते सकिँदा हात्तीहरुले दुःख दिएको स्मरण गर्दै उनले यस वर्षको गणनाको सम्भावना भने टरेको बताए ।

चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गैंडा गणना गरिने कार्यक्रम थियो ।

चितवनमा गैंडा गणना गर्न एक महिना लाग्छ भने अन्य निकुञ्जमा एक साता देखि १० दिनसम्म लाग्छ ।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो ।

हरेक पाँच पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरी ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान छ ।