Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


क्षणभरमै घर खरानी, ६ जनाको परिवारको बिचल्ली


13
Shares

प्रकाश पाक्साँवा/ईमेज

तेह्रथुम । बिहान–बेलुकी हातमुख जोड्न मजदुरी नै गर्नुपर्दथ्यो । घरमा बालबच्चा हुर्काउन अर्को समस्या छँदै थियो । गाउँका साहुमहाजन कहाँ पुगेर दिनभरी काम गर्नु तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामाराका सुर्यबहादुर लिम्बु दैनिकी नै हो । दुधे बच्चालाई काखमा च्याप्दै उनकी श्रीमती माया पनी परिवार चलाउनमा साथदिँदै आइरहेकी छन् ।

सँधै झैं लिम्बु आइतबार सबेरै उठे । विहानै साहूकहाँ ऋण माग्न गएका उनी एक हजार ऋण लिएर फर्किदा घरगोठ खरानी बनी सकेको थियो । उनका श्रीमती माया पनी बिहानै गाउँतिर गएकी थिइन । घरमा साना नानीहरु मात्रै थिए । नानीहरु र छिमेकी चिच्याउँदै घरमा आगो लागेका निभाउन पुगे ।

तर घरमा लागेको आगो नियन्त्रणमा आउन सकेन । बरु भएको बास पनी आगोले क्षणभरमै खरानी बनायो । घरमा आगो दनदनी बल्दा यी विपन्न परिवार खुबै रोए ।

‘जहाँ होचो त्यहाँ घोचो’ भने झै बिहान के खाउँ बेलुकी के खाउँ भन्ने लिम्बुको परिवारलाई यतिबेला बज्रपात भएको छ । आङ ढाक्ने कपडा र हातमुख जोड्ै हम्मेहम्मे हुने परिवारमा ठुलो पीडा आइपर्यो । आगो निभाउन नजिकैको शुक्रबारे प्रहरीचौकीको टोली स्थानीयले प्रयास गरे तर घर जोगाउन सकेनन ।

अन्नतः घरगोठ घरमा भएको लत्ताकपडा, अन्न, भाडा बर्तन, १० वटा बाख्रा र एक वटा सुँगुर जल्यो । आगोले जलेर लिम्बुको १५ लाख बराबरको क्षती भयो ।

घर के कसरी बनाउने थाहा छैन । आँखा अगाडी आफैं घर जल्यो घरसँगै लिम्बु परिवारको मन जल्यो । खडेरीले आक्रान्त बनेको यो गाउँमा लिम्बुले अन्नबाली भित्रउने कुरै भएन । सबै गाउँमा रहेको छिमेकीको सहारामा जीवन गुजारा चलाउँदै आएका छन ।

घर आगोले जलेर खरानी भएपछी यतिबेला छिमेकी टंक बहादुर लिम्बुको घरमा आश्रय लिन पुगेका छन । चार जना छोरा र एक छोरीका रहेको लिम्बुको परिवार जसोतसो चल्दै आएको छ । छोरीको बिबाह छी घरमा ६ जनाको परिवार बिचल्लीमा छन् ।

पीडित परिवारलाई सरकारको राहत

छथर गाउँपालिकाले लिम्बुको घर जलेको खबर पाउने वित्तिकै राहत सामाग्री पुराएको छ । गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुको नेतृत्वमा स्थानीय सरकारको टोली घटनाको अनुगमनमा गरी राहत प्रदान गरेको छ । खाद्यन्य, लत्ताकपडा, भाडा बर्तन लगायतका समाग्री लिएर स्थानीय सरकार पीडितको घरमा पुगेको थियो ।

घटना स्थल पुगेरका गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले पिडीत परिवारलाई सान्तवना दिँदै स्थानीय सरकार साथमा रहेको बताए । पिडीतलाई जस्तापाता प्रदान गर्ने समेत प्रतिबद्धता दिँदै परिवारलाई छिमेकीको घरमा ब्व्यवस्थापन गरिदिएका छन् ।