Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ललितपुरमा पकड जमाउन एमालेलाई कठिन


2.5k
Shares

काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभरि झन्डै ४० प्रतिशत स्थानमा जितेर पहिलो बनेका एमालेले ६ वटा स्थानीय तह रहेको ललितपुर जिल्लामा भने दुईवटा पालिकामा मात्र जित निकालेको थियो। ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँगको तालमेल पनि निर्णायक बन्न नसक्दा एमाले झिनो मतान्तरमा पराजित भएको थियो। जिल्लाका महालक्ष्मी नगरपालिका र महांकाल नगरपालिकामा मात्र एमाले विजयी भएको थियो। ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र वाग्मती गाउँपालिकामा कांग्रेसले जित्दा कोन्ज्योसोम गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो।

यसपटकको स्थानीय तह निर्वाचनमा पनि ललितपुर जिल्लामा जित निकाल्न एमालेका लागि झन् अप्ठेरो देखिएको छ। उसका लागि एमाले विभाजनको असर त पर्ने नै छ, त्यसमा माथि पनि सत्ता गठबन्धन दलबीचको तालमेलले झन् जोखिम बढाएको छ। एमालेका स्थानीय नेताहरू भने यो कुरा स्वीकार गर्न तयार छैनन्। तर गठबन्धन एमालेलाई अवश्य बिझाएको देखिन्छ। एमालेका लागि थोरै राहतको पक्ष पनि छ। गठबन्धन दलभित्र तालमेल भए पनि त्यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन। कांग्रेस र माओवादी केन्द्रले मात्रै अन्तिम अवस्थामा जिल्लाका पालिकामा तालमेल गरेका छन्।

सत्ता गठबन्धनभित्र रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई कांग्रेस र माओवादी मिलेर एक्लै पारेका छन्। जसले गठबन्धनको समीकरणमा केही असर गर्ने देखिन्छ। महालक्ष्मी नगरपालिकाको मेयरमा माओवादी र कांग्रेस दुवैका उम्मेदवार छन्। वडाहरूमा गठबन्धनको अवस्था भद्रगोल छ। यसको फाइदा एमालेले उठाउन सक्छ। अघिल्लो स्थानीय तह निर्वाचनमा कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा भएको थियो। यहाँ माओवादी केन्द्रका गोपीलाल सिंताङले ६६ मत अन्तरले कांग्रेसका राजनप्रसाद घिमिरेलाई जितेका थिए। नेकपा एमालेका कृष्णमान लामा १ हजार ४ सय ७८ मतसहित तेस्रो भएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।