काठमाडौं । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो । विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्री–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी सो आँकलन तयार पारेको जनाइएको छ ।
विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आँकलन, विभागको आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनलाई समेत आधार मानेको जनाइएको छ ।विभागले सन् २०२० देखि आफैं पनि मनसुनको अवधि र हिउँदको अवधिको मौसम आँकलन गर्दै आएको छ ।विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले अहिलेको मौसमको अवस्था हेरेर पछि हुने अवस्थाको आँकलन गरी यस्तो विवरण सार्वजनिक गरिएको बताइन् । उनले विगत ३० वर्षको मनसुनको समयको अवस्थालाई विश्लेषण गरेर यस्तो तथ्य निकाल्ने गरिएको बताइन् ।
उनका अनुसार, ३३.३ प्रतिशत भन्दा तललाई सरदरभन्दा कम, सोदेखि माथि ६६.६ प्रतिशतसम्मलाई सरदर र त्योभन्दा माथि भएमा सरदरभन्दा बढी पानी पर्ने अवस्था रहेको मान्ने गरिन्छ । विभागले प्रदेश नम्बर १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र बाग्मती प्रदेशको दक्षिणी भूभागबाहेक अन्य क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । ती क्षेत्रहरूमा बढी वर्षा हुने सम्भावना ९३४ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । विभागबाट प्राप्त विवरणअनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र बाग्मती प्रदेशको दक्षिणी भूभागमा सरदर वर्षा हुने आँकलन छ। त्यसको सम्भावना ९३५ देखि ४५ प्रतिशत अनुमान गरिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्