
ललितपुर । स्थानीय तहको निर्वाचन नजिकनजिक आउँदै गर्दा काठमाडौंसँग जोडिएको सांस्कृतिक नगरी ललितपुर महानगरपालिकामा प्रमुख दलहरूले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा आफ्ना उम्मेदवारलाई जिताउन चुनावी अभियान तीव्र पारेका छन्। ललितपुर महानगरमा यसपटक पनि मेयरमा अघिल्लै निर्वाचनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
सत्तारूढ गठबन्धनले निवर्तमान मेयर एवं कांग्रेस नेता चिरिबाबु महर्जनलाई अघि सारेको छ। प्रमुख प्रतिपक्षी एमालेले पनि यसअघिका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा यी दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भएको थियो। महर्जन र व्यञ्जनकारबीच हारजित हुँदा ३ सय २६ मत मात्रै फरक परेको थियो। मेयरमा निर्वाचित महर्जनले २४ हजार ६ सय ४२ र प्रतिद्वन्द्वी व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए।
यसपटक निर्वाचनमा दुवै पार्टीबाट उम्मेदवार दोहोरिए पनि चुनावी माहोल र तालमेलको अवस्था केही फरक छ। कांग्रेस उम्मेदवार महर्जनलाई सत्तारूढ गठबन्धनको साथ छ। उनले एक कार्यकाल काम पनि गरिसकेका छन्। महर्जनले गरेका कामलाई नै यसपटक मतदाताले मूल्यांकन गर्दै पुनः भोट दिने गठबन्धनको विश्वास छ। महर्जनले राम्रो काम गरेकाले पुनः जित्ने दाबी गठबन्धनले गरिरहँदा एमालेले भने महर्जनले पाँच वर्षमा कुनै उल्लेख्य काम नगरेको आरोप लगाइरहेको छ। महर्जनले उल्लेखनीय काम नगरेकै कारण मतदाताले व्यञ्जनकारलाई भोट दिने दाबी एमालेको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्