Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द: आयोग


260
Shares

काठमाडौं । निर्वाचन आयोगले राजनीति दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको पाइए उम्मेदवारी नै रद्द गरिने चेतावनी दिएको छ । आयोगले आचारसंहिता पालना गरे नगरे’दयगत सूक्ष्म अनुगमन थालिएको र अनुगमनका क्रममा उल्लंघन गरिएको पाइए उम्मेदवारी रद्द गरिने चेतावनी दिएको हो । आयोगमा देशका विभिन्न जिल्लामा उम्मेदवार र राजनीतिक दलले एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन गरेको उजुरीहरू आउने क्रम पनि बढेको छ । उजुरी आउने क्रम बढेपछि आयोगले सूक्ष्म अनुगमन थालेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताविपरीत पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए कारबाही गरिने चेतावनी दिएका हुन् । उनले आचारसंहिता उल्लंघन गरिएका उजुरी आउने क्रम बढेको जनाउँदै त्यस्ता उजुरीमाथि गम्भीर छानबिन थालिएको बताए ।

आयोगले आचारसंहिताविपरीतका सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिइने र आदेशको बर्खीलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रुपैयाँसम्म जरिमाना गराउने वा उम्मेदवारी नै रद्द गराउन सकिने आयोगले स्पष्ट पारेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।