Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


काठमाडौंमा रोचक प्रतिस्पर्धा


1.4k
Shares

काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा वैकल्पिक शक्तिका रूपमा प्रचारित विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारको पक्षमा झन्डै ४२ हजार मत खस्यो। वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषसहित स्थापना भएको विवेकशील नेपालीबाट मेयरको उम्मेदवार बनेकी रञ्जु न्यौपाने (दर्शना)ले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थान ओगटेकी थिइन् । ६४ हजार हाराहारी मतसहित एमालेका उम्मेदवार मेयरमा विजयी भए।

कांग्रेस उम्मेदवार ४५ हजार हाराहारी मतसहित दोस्रो स्थानमा सीमित भए। त्यतिबेला बिबिसी नेपाली सेवाबाट अवकाश लिएर रवीन्द्र मिश्रले वैकल्पिक राजनीति गर्ने भन्दै साझा पार्टीको घोषणा गरेका थिए। उनको पार्टी निर्वाचन आयोगमा दर्ता हुन बाँकी थियो। सोही पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका किशोर थापा १८ हजार ४ सय ९६ मतसहित चौथो स्थानमा आएका थिए। साझा र विवेकशील दुवै पार्टीका उम्मेदवारको प्राप्त मतको योग ४१ हजार ९ सय ३५ थियो। यसरी नयाँ पार्टी, त्यसमा पनि राजनीतिमा खासै अनुभव नभएका उम्मेदवारलाई ‘सम्मानजनक’ स्थान दिएर राजधानीवासीले पृथक मत अभिव्यक्त गरेका थिए।

यसरी राजधानी सहर काठमाडौंका बासिन्दाले यसरी फरक मत अभिव्यक्त गरेको त्यो पहिलोपल्ट भने थिएन। अघिल्ला निर्वाचनहरूमा पनि भिन्नभिन्न मत अभिव्यक्ति झल्किएका थिए। शिक्षा र चेतनाको दृष्टिकोणबाट अब्बल जनमत रहेको राजधानीमा निर्वाचनमा फरकफरक सन्देश आउनु स्वाभाविक रहेको जानकार बताउँछन्।अहिले फेरि वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। विगतमा जस्तै अहिले पनि अनेक पृष्ठभूमिका उम्मेदवारले काठमाडौं महानगरको मेयर लगायत पदमा उम्मेदवारी दिएका छन्। प्रमुख पार्टीहरू एमाले र कांग्रेसले पनि विगतका अभ्यास भन्दा केही फरक सन्देश दिनेगरी उम्मेदवार खडा गरेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।