काठमाडौं । गर्मीयाम शुरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन् । यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ । अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ ।
वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भन्नुभयो– ‘हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक झाडीमा आगालागी भएको थियो ।
वैशाख २ गते नागार्जुन जंगलमा, ४ गते तार्केश्वर नगरपालिकास्थित शान्तिधाम नजिकैको जंगलमा, १३ गते म्हेपी मन्दिरको जंगल र चोभारको जंगलमा आगलागी भएको थियो ।’ तीनदिन अघि शिवपुरीमा लागेको आगो बल्ल नियन्त्रणमा आएको छ । दमकलले मात्र सो आगलागी नियन्त्रण गर्न नसकेपछि सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरिएकोे थियो ।
सो आगलागीको मुस्लो र धूवाँका कारण उपत्यकाको मौसम धुम्म भएको छ । दमकल कार्यालय प्रमुख श्रेष्ठले कसैले जानेर त कसैले अन्जानमा आगो लगाउँदा जंगलमा ठूलो क्षति भएको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा सबैजसो आगलागीको घटना चुरोट सल्काएर फालेकै कारणबाट हुने गरेको छ ।दिनहुँजसो आगलागीको घटना बढ्न थालेपछि दमकलका कर्मचारी हैरान भएका छन् । एक अग्नि नियन्त्रकले भने – ‘पछिल्लो १५ दिनमा हामी सुत्नसमेत कठिन भएको छ ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्