-यज्ञराज पाण्डे/ईमेज
काठमाडौं । कोरोनाभाइरसको संक्रमणले विश्व आक्रान्त छ । विज्ञहरुले यो कठिन घडीले पूर्वीय सभ्यताको महत्वलाई दर्शाएको बताउँछन् ।
हालसम्म यो रोगको वास्तविक उपचार पत्ता लाग्न सकेको छैन । पूर्वीय जीवनशैलीमा नै यस्ता महामारीविरुद्ध लड्न सक्ने वैज्ञानिक तत्वहरुको उपस्थिति भएको जानकारहरुको ठहर छ ।
कोरोना भाइरस संक्रमणको त्रासले विश्वलाई नै चुनौती दिइ रहेको अवस्था हो यो । यो रोगको वास्तविक उपचार विधि पत्ता लागेको छैन । खोज भने जारी छ ।
सन्त्रासको यो समयले प्राकृतिक उपचार पद्धतिमा आधारित पतञ्जली उपचार पद्धति र पूर्वीय सभ्यताको जीवनशैलीलाई ब्युँताएको छ ।
महामारीको त्रास चौतर्फी बढेका बेला यसको रोकथाममा अपनाइएको सेल्फ क्वारेन्टाइन, आइसोलेसन र हात तथा शरीरलाई स्वच्छ बनाइ राख्ने विधिहरु जो आजका दिनमा कोरोना संक्रमणलाई रोक्न महत्वपूर्ण ठानिँदैछन् यिनको पालना त वर्षौँ पहिले नेपालले मानिआएको पूर्वीय सभ्यतामा आधारित रहेको पूर्वीय जीवन पद्धतिका अन्वेषक डा. शास्त्रदत्त पन्त बताउँछन् ।
प्रकृति र मानवको अन्योन्याश्रित सम्बन्धबारे बुझेरै होला वैज्ञानिक अल्वर्ट आइन्सटाइनले ब्याक टु नेचरमा जोड दिएको । प्रकृति नै मानव जीवनको उत्पत्ति र अन्त्यको कारण भएकाले यसको सामिप्यतालाई जीवनदर्शनका अनेक कोणबाट विश्लेषण गरिएको पाइन्छ ।
अहिलेको महामारी रोक्न विश्वले अनेक प्रयास गर्दा पनि हम्मेहम्मे परेको अवस्थामा डा. पन्त भने पूर्वीय सभ्यताको जीवनशैली, खानपान, रहनसहन लगायतका प्राकृतिक उपचार पद्धतिले नै संक्रमणबाट जोगाउने उपाए भएको बताउँछन् ।
समय क्रमसँगै पूर्वीय जीवनपद्धति कति वैज्ञानिक रहेछ भन्ने पुष्टि हुँदै गएको छ । यसअघि मानव जातिले भोगेको अनेक दुःख र कष्टले नै हाम्रा पूर्खाहरुलाई त्यसँग जुध्ने ज्ञान पनि दिएको थियो । प्रकृतिबाटै महामारीको उत्पत्ति भएकाले प्रकृतिमै यसको समाधान रहेको पूर्वीयशास्त्रीहरुको बुझाइ छ ।
मानिस प्रकृतिबाट पर–पर हुँदै गइ रहेको वर्तमान अवस्थामा प्रकृतिले मानवीय जीवनलाई चुनौति दिँदा अब प्रकृतिमै फर्केर निदान खोजिनुपर्ने उत्तम बेला आएको छ ।









प्रतिक्रिया दिनुहोस्