Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


कोरोनाले सम्झाएको पूर्वीय सभ्यता


0
Shares

यज्ञराज पाण्डे (इमेज)

काठमाडौं, चैत १८ । कोरोनाभाइरसको संक्रमणले विश्व आक्रान्त छ । विज्ञहरु यो कठिन घडीले पूर्वीय सभ्यताको महत्वलाई दर्शाएको बताउँछन् ।

हालसम्म यो रोगको वास्तविक उपचार पत्ता लाग्न सकेको छैन ।

पूर्वीय जीवनशैलीमा नै यस्ता महामारीविरुद्ध लड्न सक्ने वैज्ञानिक तत्वहरुको उपस्थिति भएको जानकारहरुको ठहर छ ।

कोरोनाभाइरस संक्रमणको त्रासले विश्वलाई नै चुनौती दिइरहेको अवस्था हो यो । यो रोगको वास्तविक उपचार विधि पत्ता लागेको छैन । खोज भने जारी छ ।

सन्त्रासको यो समयले प्राकृतिक उपचार पद्धतिमा आधारित पतञ्जलि उपचार पद्धति र पूर्वीय सभ्यताको जीवनशैलीलाई ब्युँताएको छ ।

महामारीको त्रास चौतर्फी बढेका बेला यसको रोकथाममा अपनाइएको ‘सेल्फ क्वारेन्टाइन’, ‘आइसोलेसन’ र हात तथा शरीरलाई स्वच्छ बनाइराख्ने विधिहरु जो आजका दिनमा कोरोना संक्रमणलाई रोक्न महत्वपूर्ण ठानिँदैछन्, यिनको पालना त वर्षौंपहिले नेपालले मानिआएको पूर्वीय सभ्यतामा आधारित रहेको बताउँछन्, पूर्वीय जीवन पद्धतिका अन्वेषक डा. शास्त्रदत्त पन्त ।

प्रकृति र मानवको अन्योन्याश्रित सम्बन्धबारे बुझेरै होला, वैज्ञानिक अल्बर्ट आइन्सटाइनले ‘ब्याक टु नेचर’मा जोड दिएको ।

प्रकृति नै मानव जीवनको उत्पत्ति र अन्त्यको कारण भएकाले यसको सामिप्यतालाई जीवन–दर्शनका अनेक कोणबाट विश्लेषण गरिएको पाइन्छ ।

अहिलेको महामारी रोक्न विश्वले अनेक प्रयास गर्दा पनि हम्मे–हम्मे परेको अवस्थामा डा. पन्त भने पूर्वीय सभ्यताको जीवनशैली, खानपान, रहनसहनलगायतका प्राकृतिक उपचार पद्धति नै संक्रमणबाट जोगाउने उपाए भएको बताउँछन् ।

समयक्रमसँगै पूर्वीय जीवन पद्धति कति वैज्ञानिक रहेछ भन्ने पुष्टि हुँदै गएको छ ।

यसअघि, मानव जातिले भोगेको अनेक दुःख र कष्टले नै हाम्रा पूर्खाहरुलाई त्यसँग जुध्ने ज्ञान पनि दिएको थियो ।

प्रकृतिबाटै महामारीको उत्पत्ति भएकाले प्रकृतिमै यसको समाधान रहेको पूर्वीयशास्त्रीहरुको बुझाइ छ ।

मानिस प्रकृतिबाट पर–पर हुँदै गइरहेको वर्तमान अवस्थामा प्रकृतिले मानवीय जीवनलाई चुनौती दिँदा अब प्रकृतिमै फर्केर निदान खोजिनुपर्ने उत्तम बेला आएको छ ।