Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले पहिलो अन्तराष्ट्रिय उडान भर्ने


754
Shares

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले पहिलो अन्तराष्ट्रिय उडान भर्ने भएको छ ।

बिहीबारदेखि विधिवत रूपमा सञ्चालन आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको हो ।

उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान साढे २ बजे नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । एउटा मात्र रनवे भएका कारण ट्राफिक जाम हुने गरेकाले जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताउनुभयो ।

उक्त विमानस्थल सञ्चालन भएसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ ।

Skip This